समाचार


भारत र चीनसँग परिणामुखी साझेदारी चाहेका छौं: प्रधानमन्त्री ओली

फाल्गुन १०, २०७२- आजको कान्तिपुर दैनिकमा लेखिएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विकसित छिमेकी भारत र चीन दुवै मुलुकसँग नेपाल परिणाममुखी साझेदारी गर्न चाहेको बताएका छन् । उनले दुई देशको तिव्र आर्थिक विकासबाट नेपालले लाभ लिनुएर अघि बढ्न चाहेको उल्लेख गरे । भारत भ्रमणको चौथो दिन आज नयाँ दिल्लीस्थित विश्व मामिला सम्बन्धी भारतीय परिषदलाई सम्बोधन गर्दै ओलीले नेपालको माटो काही विरुद्ध कोहीलाई दुरुपयोग हुन नदिने बताए ।

‘भारतको सुरक्षा चासो र ऊसँगको लामो मित्रतालाई पनि ध्यानमा राख्छौं,’ उनले भने ‘संविधान जारीसँगै अब मुलुकलाई आर्थिक विकासको दिशामा अघि बढाउने र त्यस निमित्त दुबै छिमेकीको सहयोग नेपाललाई आवश्यक छ ।’  

संविधानसभाले सबै समुदाय र पक्षसँग छलफल गरेर संवाद र सहमतिको प्रक्रियाबाट ९० प्रतिशत सभासदको मतबाट संविधान बनाएको भन्दै उनले यसमा सबै पक्ष सबै बुँदामा सहमत नहुन पनि सक्ने बताए ।

‘संविधानले सबै मौलिक अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गरेको छ । त्यसकारण यो संविधान नमुनायोग्य र प्रगतिशील छ,’ प्रधानमन्त्रीले भने, ‘संविधानले नागरिकता, रोजगारीको अवसर, समावेशीता, सामाजिक न्याय, समता र लोकतन्त्र जस्ता सवालमा कुनै समुदायलाई विभेद गरेको छैन, बरु पछाडि पारिएका समुदायलाई आरक्षणको पनि व्यवस्था गरेको छ ।’ संविधानसँगै नेपालले लामो समयदेखिको संक्रमणकालको अन्त्य गरेकोमा विश्व समुदाय र भारत सरकारले यसलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएकोमा प्रधानमन्त्रीले आभर व्यक्त गरे ।

प्रधानमन्त्रीले नजिकको छिमेकी र महत्वपूर्ण विकास साझेदार भारतसँग परम्परागत र लामो सम्बन्ध रहेकाले आपसी सम्बन्धलाई कुनै सम्झौता वा दस्तावेजमा सीमित नराखी भावनात्मक आधारमा पनि हेर्नुपर्ने उल्लेख गरे ।

‘हामीहरु एकापासमा विश्वास, सम्मान, सार्वभौमसत्ता, स्वतन्त्र तथा मैत्री सम्बन्ध र समृद्धिको मार्गदर्शनमा अघि बढेका छौ । यो सम्बन्ध सरकार सरकारमा मात्र नभई जनता जनतामा पनि जोडिएको छ । त्यसैले आपसी सम्बन्ध विस्तार र सुरक्षाका सवालमा हामी संवेदनशील छौं,’ उनले भने ।  

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटमा दुई देशबीच पछिल्ला समयमा देखिएको तिक्तता र असमभझदारी हटाउने प्रयास गरिएको र आगामी दिनमा त्यस्ता असमझदारी नरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्मन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीको पनि केही विषयमा फरक मत रहेपनि दुई तिहाइले पारित गरेकाले त्यसलाई ग्रहण गरेको भन्दै नयाँ संविधानले सबै समुदायलाई समेटेको बताए । उनले कतिपय गलत बुझाइका कारण संविधान जारीपछि नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएपनि प्रधानमन्त्री ओलीको भ्रमणबाट सम्बन्ध स्पष्ट भएको जनाए ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले नयाँ संविधानको स्वागत गर्दै जनताको जायज मागका आधारमा संबिधानमा संशोधन गरेकोमा आभार व्यक्त गरिन । नेपाल सरकारले गठन गरेको राजनीतक संयन्त्रबाट वार्ता र संवादका आधारमा मधेसी दलका माग र संघीयताको सीमाकंनसम्बन्धी समस्या समाधान हुने विश्वास मन्त्री स्वराजले व्यक्त गरिन ।  उनले संविधान बनाउन नेपालले देखाएको परिपक्वताको स्वागत गर्नुका साथै  बधाई पनि दिइन ।

उनले १७ वर्षदेखि हुन नसकेको भारतीय पक्षको नेपालमा उच्चस्तरीय भ्रमणलाई मोदीको भ्रमणले तोडेको र पछिल्ला दिनमा आपसी भ्रमण र संवाद बढेकामा खुशी समेत व्यक्त गरिन् । उनले भारतले नेपाल प्रति ठूलो दाइको व्यवहार गर्न चाहको भन्ने गलत बुझाइको खण्डन गर्दै त्यसलाई प्रौढ भाईका रुपमा नेपालमा समस्याबारे चासो राखी समाधानमा सहयोग गर्न चाहेको अर्थमा बुझ्न आग्रह गरिन् ।

साभार : कान्तिपुर दैनिक